तीनकुने घटनामा पक्राउ पर्नेको संख्या ७३ पुग्यो

Byपहिलो सुचना

२०८१ चैत्र २७, बुधबार ०८:१९ २०८१ चैत्र २७, बुधबार ०८:१९ २०८१ चैत्र २७, बुधबार ०८:१९

चैत २७, काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा पक्राउ पर्नेको संख्या ७३ पुगेको छ । दुई जनाको ज्यान गएको उक्त घटनाको १० दिनमा प्रहरीले ७३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

प्रहरीले त्यस घटनामा संलग्नको आशंकामा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिँदै आएको छ । ती व्यक्तिहरूलाई स्क्रिनिङ गरी संलग्न नदेखिएकाहरूलाई छाड्दै आएको हो । प्रहरीले सामाजिक सञ्जालमा देखिएका भिडिओ, फोटो, सिसिटिभी फुटेज लगायतका आधारमा पक्राउ गर्दै आएको हो । तीमध्ये ७३ जनाविरूद्ध भने प्रहरीले पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेको हो।

एसपी बोहराका अनुसार २० जनाविरूद्ध राज्यविरूद्धको कसुरमा अनुसन्धान भइरहेको हो ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशमशेर राणाविरूद्ध पनि राज्‍य विरूद्धको कसुरमा अनुसन्धान भइरहेको छ ।

गोपाल मल्ल, गोपीकृष्ण खड्का, सन्तोष चौधरी, रामकुमार धिमाल, पशुपति खड्का, हरिहर चौलागाई, विष्णु पराजुली, धर्मगुरू बताउने पुस्कर खतिवडा, मुनिन्द्रराज भण्डारी, कुमार बस्नेत, अनिलकुमार थापा, तारानाथ बोहरा, दानबहादुर न्यौपाने, उमेश तामाङ, भानुभक्त पौडेल, विष्णुजंग बस्नेत, देवीप्रसाद संग्रौला र प्रेम थापा मगरमाथि राज्यविरूद्धको कसुरमा अनुसन्धान भइरहेको हो। उनीहरूसहित बाँकी ५३ जनालाई आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको हो ।

चैत १५ गते भएको प्रदर्शनमा पत्रकार सुरेश रजक र सबिन महर्जनको मृत्यु भएको थियो । त्यस दिन २० जना गोली लागेर घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook