नक्कली बुबा बनेर भारतीयलाई नागरिकता दिलाउने पक्राउ

Byपहिलो सुचना

२०८१ चैत्र ७, बिहीबार ०६:०९ २०८१ चैत्र ७, बिहीबार ०६:०९ २०८१ चैत्र ७, बिहीबार ०६:०९

चैत ६, सिरहा । सिरहामा नक्कली बुबा बनेर एक भारतीयलाई नागरिकता दिलाउने व्यक्ति पक्राउ परेका छन्। नक्कली बुबा बन्ने नरहा गाउँपालिका–३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ गरेको हो।

अमानतलाई मंगलबार साँझ घरबाटै पक्राउ गरिएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए। उनका अनुसार सिरहा जिल्ला अदालतबाट बुधबार म्याद लिएर उनीमाथि विस्तृत अनुसन्धान सुरू गरिएको छ। 

नरहा गाउँपालिका–३ को वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालय, सिरहाले भारतीय नागरिक मोसताक मियाँलाई २०८० असार २६ मा नेपाली नागरिकता दिएको थियो। अमानत मियाँ र उनकी पत्नी रजिना खातुन नक्कली बुबाआमा बनेका थिए।

नागरिकताका लागि वडाध्यक्ष रूस्तम अन्सारी र वडासचिव रामदेव मण्डलले सिफारिस दिएका थिए। वडाध्यक्ष, सचिव र जिल्ला प्रशासनका कर्मचारीले आर्थिक चलखेल गरी नागरिकता दिलाएको भन्दै जिल्ला प्रशासनदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयसम्म उजुरी परेको थियो।

यस प्रकरणमा भारतीयलाई मिलेमतोमा नागरिकता दिलाएको भन्दै दोषीमाथि कारबाही गर्नुको सट्टा संरक्षण गरिएको भन्दै सांसद राजकिशोर यादवले गत फागुन २७ गतेको संसद बैठकमा आपत्ति जनाएका थिए। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook