माघ १७, काठमाडौं । तामाङ समुदायले मनाउने सोनाम ल्होछार आज विश्वभरिका तामाङ समुदायले मनाउँदै छन् ।
तामाङ भाषामा ‘ल्हो’ भनेको साल र ‘छार’ भनेको नयाँ भन्ने बुझिन्छ जस अनुसार आज मञ्जुश्री सम्वत २८६१ सालको नयाँ वर्ष हो र यो समुदायले ल्होछारलाई मुख्य चाडको रुपमा धुमधामले मनाउने गर्छन् ।
ल्होछार मनाउने समुदायमा हरेक १२ वर्षको एक चक्र हुन्छ जसलाई ल्होखोर भनिन्छ । १२ वर्ष पुरा भए पछि ल्होखोर पुनः दोहोरीन्छ । प्रत्येक वर्ष विभिन्न जीव जनवारहरुको नामबाट नामकरण गरिएको हुन्छ जस अनुसार मुसा, गाई, घोडा, खरायो, ड्रागन, सर्प, भेडा, वाँदर, चरा, कुकुर र सुगुर छन् ।
आज देखि ढुल अर्थात् सर्प वर्ष शुरु भएको छ ।
ल्होछारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने तामाङ समुदायसँग सम्बन्धित संघ सस्थाहरुले काठमाडौं टुडिखेलमा भव्य कार्यक्रम आयोजना गरेका छन् ।
