पूर्वमन्त्री दीपक मनाङे कारागार चलान

Byपहिलो सुचना

२०८१ कार्तिक २८, बुधबार ११:२२ २०८१ कार्तिक २८, बुधबार ११:२२ २०८१ कार्तिक २८, बुधबार ११:२२

कात्तिक २८, काठमाडौं । गण्डकी प्रदेशका सांसद एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) मंगलबार डिल्लीबजार कारागार चलान भएका छन् । ज्यान मार्ने उद्योगअन्तर्गतको कसुरमा सर्वोच्च अदालतबाट दोषी ठहर भएको एक सातामै उनलाई पक्राउ गरेर कारागार पठाइएको हो । 

गुन्डा नाइकेका रूपमा चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङलाई खुकुरी प्रहरी प्रहार गरी घाइते बनाएको २० वर्षअघिको घटनामा मनाङेलाई सर्वोच्चले गत कात्तिक २० मा दोषी ठहर गर्दै ५ वर्ष कैद हुने गरी फैसला गरेको थियो ।

मंगलबार बिहान काठमाडौंको सीतापाइलास्थित कम्फर्ट हाउजिङबाट पक्राउ गरेको थियो । ‘पक्राउपछि मनाङेलाई जिल्ला अदालत काठमाडौंमा पेस गरिएको थियो,’ सीआईबी प्रमुख एआईजी दीपक थापाले भने, ‘अदालतको आदेशपछि सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ ।’ मनाङेलाई डिल्लीबजार कारागारको ‘ख’ ब्लकमा राखिएको छ ।

मनाङले चक्रे मिलनमाथि काठमाडौंको महारागन्जमा २०६१ वैशाख ३१ मा खुकुरी प्रहार गरेका थिए । त्यति बेला चक्रे मिलनको देब्रे हात छिनालिएको थियो । घटनाको मुचुल्का भने प्रहरीले २०६१ जेठ ६ मात्रै उठाएको थियो । घाइते चक्रे मिलनका तर्फबाट घटनाको १२ दिनपछि हुलाकमार्फत जाहेरी परेको थियो । उनीविरुद्ध ज्यान मार्ने उद्योग गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर भएकामा २०६३ माघ ७ मा उक्त घटनालाई कुटपिटका रूपमा व्याख्या गरेर २ वर्ष कैद सजाय सुनाइएको थियो । फैसलाबमोजिम २ वर्ष कैद भुक्तान गरेर मनाङे २०६३ चैत १८ मा छुटेका थिए ।

जिल्लाको फैसला त्रुटिपूर्ण भन्दै सरकारी वकिल कार्यालयले तत्कालीन पुनरावेदन अदालत पाटनमा पुनरावेदन गर्‍यो । पाटन अदालतले २०६९ साउन २८ मा जिल्लाको फैसला उल्ट्याउँदै मनाङेलाई ज्यान मार्ने उद्योगमै दोषी ठहर गरी ५ वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो । त्यसपछि उनी प्रहरीको फरार सूचीमा थिए । फरार रहेकै अवस्थामा २०७४ को निर्वाचनमा उनी मनाङ १ (२) बाट प्रदेशसभा सदस्यमा विजयी भए । फरार व्यक्तिले चुनाव जितेको प्रसंग सतहमा आएपछि उनी २०७५ वैशाख १४ मा पक्राउ परे ।

मनाङेले तत्कालीन पुनरावेदन अदालतको फैसलाविरुद्ध सर्वोच्चमा निवेदन दिए । पाटनबाट भएको फैसलाबारे आफूलाई थाहा नभएको जिकिरसहित उनले आफ्नो पक्राउ गैरकानुनी भन्दै निवेदन पनि दिएका थिए । त्यसपछि उनी सर्वोच्चकै आदेशले धरौटीमा छुटे । यही बीचमा उनी दोहोर्‍याएर प्रदेश सांसद भए भने ६ पटक मन्त्री बने ।

सर्वोच्चमा लामो समयदेखि विचाराधीन रहेको मुद्दामा न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्कालीन पुनरावेदन अदालतबाट भएको फैसलालाई गत साता सदर गर्‍यो । दुई पटकमा गरेर उनी ३२ महिना जेल बसिसकेका थिए । ५६ वर्षीय मनाङेले अब २८ महिना कैद सजाय भुक्तान गर्नुपर्नेछ । उनको चालचलन हेरेर कारागारले निर्णय गरे वा बाँकी सजाय मिनाहाका लागि निवेदन दिए सजाय अवधि कम हुन सक्छ ।

मनाङेको प्रदेश सांसद पद के हुने भन्ने विषय भने सर्वोच्चले फैसलाको पूर्णपाठ सार्वजनिक गरेपछि मात्रै टुंगो लाग्नेछ । प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ मा प्रदेशसभा सदस्यको अयोग्यतासम्बन्धी १० प्रावधान छन् । त्यसमध्ये उपदफा (घ) को व्यवस्था मनाङेका हकमा आकर्षित हुने देखिएको छ ।

उपदफा (घ) मा ‘भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको’ व्यक्ति प्रदेशसभा सदस्य हुन नसक्ने’ भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook