असोज १, काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । बंगलादेशको एक विशेष अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।
‘अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ गर्न र उनलाई नोभेम्बर १८ सम्म अदालतमा जारी हुन आदेश जारी गरेको छ,’ अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (इन्टरनेसनल क्रिमिनल ट्राइब्युनल) का मुख्य अभियोजक मोहम्मद तजुल इस्लामले भने । पूर्वप्रधानमन्त्री हसिना गत अगष्टमा निर्वासनमा गएकी थिइन् । युवाहरूको प्रदर्शन उग्र बन्दै गएपछि उनी देश छाडेर भारतको शरणमा पुगेकी थिइन्। त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् । १५ वर्षसम्म सत्तामा रहेकी उनीविरूद्ध मानवताविरूद्धको अपराध कसुरमा पुर्जी जारी भएको हो । प्रदर्शनको क्रममा मानव उल्लंघन, ठूलो समूहलाई पक्राउ र उनका राजनीतिक प्रतिस्पर्धीको गैरन्यायिक हत्या समेत गरेको आरोप छ । ‘हसिना जुलाईदेखि अगष्टसम्म नरसंहार, हत्या र मानवताविरूद्धको अपराध गर्ने नेताको रूपमा थिइन्,’ इस्लामले भने ।
अभियोजक बिएम सुल्तान महमुदले अभियोजन पक्षले दुई उजुरी पेस गरेपछि पुर्जी जारी भएको हो । अदालतले हसिनाको अवामी लिग पार्टीका पूर्वमहासचिव ओबाइदुल क्वेदरसहित ४४ जनाविरूद्ध पुर्जी जारी गरेको हो । अन्य ४४ जनाको नाम भने सार्वजनिक भएको छैन । हसिनाको सत्ताच्यूत भएपछि दर्जनौं साथीहरूलाई पक्राउ गरेको थियो ।
