सहकारी ठगीका अभियुक्त दीपेश पुनलाई विद्यार्थीको अध्यक्ष बनाउने माओवादीको तयारी

Byपहिलो सुचना

२०८१ आश्विन ७, सोमबार २२:४४ २०८१ आश्विन ७, सोमबार २२:४४ २०८१ आश्विन ७, सोमबार २२:४४

असोज ७, काठमाडौं । नेकपा माओवादी केन्द्रको संस्थापन पक्षले सहकारीको बचत रकम ठगीका अभियुक्त विद्यार्थी नेता दीपेश पुनलाई पार्टीको भ्रातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्ष बनाउने तयारी गरेको छ । हाल अखिल क्रान्तिकारीको महासचिव रहेका उनी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् ।

उनी सहकारी ठगी प्रकरणमा धरौटीमा छुटेका अभियुक्त पनि हुन् । उनीविरुद्धको मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ । गत वैशाखमा मात्रै बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनमा पक्राउ परेका उनी ४ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।

सुन तस्करी र भुटानी शरणार्थी प्रकरणमा समेत संदिग्ध पात्रका रुपमा देखिएका उनले पार्टी सरकारमा भएका बखत राजनीतिक पहुँचको बलमा प्रहरी छानबिनको दायराबाहिर रहेर उन्मुक्ति पाए । अहिले माओवादी नेतृत्वले ठगी र तस्करीजस्ता गम्भीर अपराधमा मुछिएका उनै पुनलाई पार्टीको विद्यार्थी संगठनको तालाचाबी सुम्पिने तयारी गरेको हो । त्यसो त अखिल क्रान्तिकारीभित्र गम्भीर अभियोग लागेकालाई विद्यार्थी संगठनको महत्त्वपूर्ण जिम्मेवारी दिन नहुने भन्दै आवाजसमेत उठिरहेको छ ।

‘दीपेशले क्रान्तिकारीको अध्यक्ष हुन पार्टी अध्यक्ष, प्रभावशाली नेताहरूलाई प्रभावमा पार्ने कसरत गरिरहेका छन्,’ अखिलका एक उपाध्यक्षले भने, ‘संस्थापन पक्षले पनि दीपेशलाई अघि बढाउने संकेत दिएको छ ।’ विद्यार्थी नेताहरूले भने दीपेशलाई अध्यक्ष बनाए राम्रो सन्देश नजाने भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदै आएका छन् । अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन यही १० असोजदेखि काठमाडौंमा हुँदैछ । यस सम्मेलनबाट अध्यक्षका लागि पुनसँगै दर्जन बढी नेताहरू दौडधुप गरिरहेका छन् ।

अध्यक्षका लागि पुनसँगै नरेश रेग्मी, अच्युत भट्ट, मदन भुल, केशव रावल, जीपी मैनाली, ईन्द्र भुसाल, पवन कार्की, नारायण खनाल, प्रवीणा अधिकारी र क्षितिज सापकोटाले पनि कसरत गरिरहेका छन् ।

हाल उपाध्यक्ष रहेका मदन भुल, केशव रावललगायत नेताहरूले ‘टीके’ प्रथाबाट नेतृत्व चयन गर्न नहुने माग गर्दै यसपटक निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने माग गरिरहेका छन् । ‘खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनुपर्छ भन्ने संगठनभित्र ठूलो माग छ,’ उपाध्यक्ष भुलले कान्तिपुरसँग भने, ‘टीकेप्रथाले संगठन सशक्त हुँदैन । हामीले नेतृत्वलाई यही कुरा सम्झाउन खोजिरहेका छौं ।’

अर्का उपाध्यक्ष रावलले पनि पार्टीभित्र गुटका आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको र त्यसको अन्त्य हुनुपर्ने बताए । ‘विद्यार्थीको सम्मेलनमा स्वयं नेताहरू गुटका आधारमा प्यानल बनाउन सुरु गरेका छन्,’ उनले भने, ‘यो अध्यक्ष प्रचण्डले गुट नबनाउन दिएको निर्देशन र क्रान्तिकारीको कार्यालय बैठकको सहमतिविपरीत पनि हो ।’

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं विद्यार्थी इन्चार्ज हिमाल शर्माले यसपटक प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्न खुला राखिएको बताए । ‘सहमति भएन भने प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गरिनेछ,’ उनले भने, ‘प्रत्यक्ष निर्वाचनलाई पार्टीले स्वीकार गरिसकेकाले धेरै प्रतिस्पर्धीबीच निर्वाचन हुने देखिन्छ ।’

सहकारी ठगी र सुन तस्करीको आरोपमा दोषी नदेखिएकाले पुन अध्यक्षको उम्मेदवार बन्न पाउने भए पनि उनीसामु राजनीतिक र नैतिक प्रश्न भने उठेको उनको भनाइ छ । ‘कानुनअनुसार दोषी ठहर नभएकाले उम्मेदवार हुन नपाउने अवस्था छैन,’ उनले भने, ‘दीपेशसामु नैतिक र राजनीतिक प्रश्न भने छन् ।’

पोखरास्थित सूर्यदर्शन सहकारी र रूपन्देहीको सुप्रिम सहकारीबाट दीपेश पुनका नाममा ऋण प्रवाह भएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले देखाएको छ । गोर्खा मिडिया नेटवर्कसँग औपचारिक सम्बन्ध नै नभएका पुनलाई कम्पनीले २ करोड ३४ लाख ऋण तथा पेस्की दिएको छ ।

के प्रयोजनका लागि कुन मितिमा पुनलाई रकम दिइएको थियो भन्नेबारे प्रतिवेदनमा खुलाइएको छैन । पुनले सूर्यदर्शन सहकारीबाट पनि ५० लाख ऋण लिएर नतिरेको प्रतिवेदनमा उल्लेख छ । गत वैशाखमा रूपन्देही जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले पुनलाई ४ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

उक्त सहकारीमा जीबी राईसहितको समूहले सर्वसाधारणबाट बचत भएको १ अर्ब ३१ करोड रकममध्ये सहकारीका राई, पुन, गुरुङसहितका पदाधिकारी र कर्मचारीले ८६ करोड १८ लाख २३ हजार अपचलन गरेको प्रतिवेदन प्रहरीले बुझाएको थियो ।

संसदीय छानबिन विशेष समितिको प्रतिवेदनका अनुसार २०७२ बाट भने गीतेन्द्रबाबु (जीबी) राईको समूह प्रवेश भएसँगै सहकारीको नाम पनि परिवर्तन भएर सुप्रिम बनेको थियो । सहकारीका पूर्वपदाधिकारी तथा संरक्षक जीबी राई र दीपेशकुमार पुनले उक्त सहकारी चलाउने प्रस्ताव २०७२ मा गरेका थिए ।

सोहीअनुसार २०७२ मा साधारणसभा गरी सहकारीको अध्यक्षमा जीबी राई चयन भए । ओमप्रकाश गुरुङ उपाध्यक्ष हुँदा जीबी राई समूहका राजु बराल सचिव, दीपेशकुमार पुन कोषाध्यक्ष बने । यस्तै, जीबीका दाइ देवेन्द्रबाबु राई, सुरज श्रेष्ठ, भूपेन्द्र राई सदस्य बने ।

पुनलाई सुन तस्करीमा संलग्न भएको आरोपमा २०८० चैत २ गते काठमाडौंको धापासीबाट पक्राउ गरिएको थियो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित आयोगले पनि दीपेशलाई अनुसन्धानको दायरामा ल्याउन राय दिएको थियो ।

२०८० साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँच पार भएर सिनामंगल सडकमा पुगेको सवारीसाधनबाट बरामद करिब ६१ केजी सुन तस्करी प्रकरणमा दीपेश चिनियाँ तस्करसँग सम्पर्कमा रहेको देखिएपछि अनुसन्धानको दायरामा ल्याइएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि दीपेशको नाम मुछिएको थियो । शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तद्वय इन्द्रजित राई र सन्दीप रायमाझीले प्रहरीको अनुसन्धानका क्रममा दीपेशको पनि नाम लिएका थिए । उनीमाथि बाबु उपराष्ट्रपति हुँदा त्यसको आडमा सत्ता र शक्तिको दुरुपयोग गरी विभिन्न प्रकरणमा संलग्न भएको आरोप लाग्दै आएको छ ।

यो सम्मेलनबाट महासचिवका लागि सुधिन पौडल, हेमन्त राई, सुधीर रेग्मी र तृष्णा हमाल आकांक्षी देखिएका छन् । सम्मेलनको नाराचाहिँ ‘भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चितताका निम्ति हाम्रो आन्दोलन : रोजगार, उत्पादन र समाजवादी शिक्षाका लागि २३औं राष्ट्रिय सम्मेलन’ तय गरिएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० देखि १४ गतेसम्म काठमाडौंमा हुनेछ । सम्मेलनमा २ हजार ३ सय २३ प्रतिनिधि सहभागी हुनेछन् । अखिलका प्रवक्ता जीपी मैनालीले हालसम्म प्रदेश र जिल्लाबाट ९५ प्रतिशत प्रतिनिधि चयन भइसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook