साउन २१, काठमाडौँ । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छिन् । बीबीसीका अनुसार प्रधानमन्त्री हसिनाले राजीनामा दिएर मुलुक छोडेकी छिन् ।
उनि आफ्नी बहिनी शेख रेहानासहित हेलिकप्टर मार्फत् भारत गएको बताइएको छ । हसिनाले राजिनामा दिएर देश छोडेपछि सडकमा उत्रिएका प्रदर्शनकारीले उत्सव मनाउँदै छन् ।
आइतबार पुनः सुरु भएको झडपमा कम्तिमा ९० जनाको ज्यान गएको थियो ।
सोमबार कम्तीमा पनि ४ लाख मानिस सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ढाकामा सोमबार मात्र प्रदर्शनका क्रममा ६ जनाको मृत्यु भएको छ । राजधानी ढाकामा गाउँगाउँबाट समेत प्रदर्शनका लागि मानिसहरू आएको समाचारमा उल्लेख छ ।
निजामती सेवाको जागिरको कोटा खारेज गर्ने आह्वानका साथ जुलाईमा विद्यार्थी आन्दोलन सुरु भएको थियो । तर दुई दशकभन्दा बढी समय सत्तामा बसेपछि हसिनाले राजीनामा दिनुपर्ने मागमा उत्रिएको थियो । यस आन्दोलनमा मृत्यु हुनेको संख्या ३०० भन्दा बढी पुगेको छ ।
