साउन ३, काठमाडौं । पार्टी र संसद् सचिवालयसँग असम्बन्धित मानिसलाई भिसाको लागि अन्तर्वार्ताको मिति मिलाइदिन भन्दै अमेरिकी दूतावासमा लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख इन्दिरा राना विवादमा परेकी छन् ।
उपसभामुख रानाले आफ्नो टोलीको सदस्य भन्दै ५ जनाको अन्तर्वार्ताको समय अगाडि सारिदिन काठमाडौंस्थित अमेरिकी दूतावाससँग ताकेता गरेको पाइएको हो । आफ्नो लेटरहेड प्रयोग गरी भिसाका लागि अन्तर्वार्ताको समय मिलाइदिन उनले आग्रह गरेकी छिन् । आफूसँगै अन्य पाँच जना पुरुषलाई भिसाका लागि सिफारिश गरेकी उपसभामुखले उनीहरु के भूमिकामा कार्यरत छन् भन्ने कुरा न चिठीमा खुलाएकी छन् न त अहिले चिठी सार्वजनिक भएपछि ।
सभामुख देवराज घिमिरेले विषय गम्भीर भएको बताएका छन् । उपसभामुख रानाले भने एक वर्ष पछाडि यो विषय किन उठाएको बुझ्न नसकेको प्रतिक्रिया दिएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद राना ७ माघ २०७९ मा उपसभामुख निर्वाचित भएकी थिइन् । अर्को महिना फागुनमा उनी यूएन वुमनको सीएसडब्लू ६७ (मार्च ६ देखि १७) मा सहभागी हुन अमेरिका गएकी थिइन् । महिलासँग सम्बन्धित कार्यक्रममा उनले किन पुरुषै पुरुषमात्र छानेर पठाउन खोजिन् भन्ने प्रश्नसमेत रहस्यमय देखिन्छ । उनले १४ फागुन (२६ फेब्रुअरी) मा दूतावासलाई लेखेको पत्रमा भनिएको छ, ‘म अनुरोध गर्न चाहन्छु कि सांसद र मेरा सहयोगी सदस्यहरूसँगै म पनि सँगै अन्तर्वार्ताको समय लिन चाहन्छु । किनभने कार्यक्रमको तालिका पनि निकट आइसकेको छ ।’ आफूसहित ६ जनाकै लागि यो कार्यक्रम असाध्यै महत्वपूर्ण भएको भन्दै उनले पत्रमा अघि लेखेकी छन्, ‘राष्ट्रसंघको निम्तोलाई म हृदयदेखि आभार व्यक्त गर्दछु र तपाईंको समन्वयमा आशावादी छु ।’
रास्वपामा गुपचुप
रास्वपा नेताहरूका अनुसार उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्रबारे पार्टीमा कुरा उठेको थियो । संगठन विभागका सचिव शंकर श्रेष्ठले सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले लगायत नेताहरूलाई यसबारे जानकारी गराएका थिए ।
त्यसपछि उपसभामुख रानालाई सोध्दा रास्वपा झापाका नेता उपेन्द्र गौतमलाई मात्र आफूले चिनेको र उनले भने अनुसार पत्र लेखेको उनको जवाफ थियो । उनीहरुको पासपोर्ट नम्बरका आधारमा अध्यागमन विभाग (त्यसबेला रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री थिए) मार्फत अमेरिका गए नगएको हेरिएको थियो । सोधखोज हुन थालेपछि उनीहरु अमेरिका नगएको खुल्यो ।
पार्टीले उपसभामुखको पत्रमा उल्लेख गरेका व्यक्तिबारे झिकाएर छलफल गर्न खोजेको थियो । तर उनीहरुले हाम्रो पैसा फिर्ता भइसक्यो भन्दै आउन अस्वीकार गरेपछि यो विषय गुपचुप रह्यो । ‘एक वर्षसम्म पैसा फिर्ता नगरेपछि उनीहरु पार्टीमा भन्न आएका रहेछन्’ एक नेता भन्छन्, ‘पैसा फिर्ता भयो, हामी बयान दिंदैनौं भनेपछि यतिकै सकियो ।’
पत्र चुहिएपछि विवाद
उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्र झण्डै १७ महिनापछि हालै मात्र सार्वजनिक भयो । आफ्नो टिमको सदस्य भन्दै भिसाका लागि लिने पत्रबारे सभामुख देवराज घिमिरेले चासो राखेका छन् ।
उनले सुरुमा उपसभामुखलाई सोधेका थिए, रानाले आफूले पत्र नलखेको दाबी गरिन् । ‘यदि हस्ताक्षर दुरुपयोग भएको हो भने किर्तेमा जानुस्, पत्र गलत भए सार्वजनिक गर्ने सञ्चारमाध्यम विरुद्ध प्रेस काउन्सिलमा उजुरी दिन भनेका थियौं’ सभामुख निकट स्रोतले भन्यो, ‘तर उहाँले केही गर्नुभएन ।’
