असार २८, काठमाडौं । प्रतिनिधिसभाको विश्वास गुमाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् ।
लगत्तै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सहितका दलहरुको समर्थनमा संविधानको धारा ७६(२) अनुसार आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश गरेका छन् ।
आइतबारसम्म उनी प्रधानमन्त्री नियुक्त हुनेछन् । एमाले प्रमुख सचेतक महेश बर्तौला भन्छन्, ‘यो पटक सके पहिलो चरणमा, नभएमा दुई चरणमा मन्त्रिपरिषद्लाई पूर्णता दिन चाहन्छौं । हामीसँग फुर्सदमा काम गर्ने छुट पनि छैन ।’
प्रचण्डले गुमाए संसदको विश्वास
१० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले यसअघि चार पटक विश्वासको मत पाएका थिए । तर यो पटक उनले संसदको विश्वास गुमाए । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्यो ।

