असार २, कर्णाली । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटमध्ये जेठ मसान्तसम्म ३७.९३ प्रतिशत खर्च गरेको छ।
कर्णाली प्रदेशसभाको शनिबारको चौथो अधिवेशनको दसौं बैठकलाई सम्बोधन गर्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले चालुतर्फ ४९ दशमलव ३८ र पुँजीगततर्फ २९ दशमलव ८७ प्रतिशत गरी समग्रमा ३७ दशमलव ९३ प्रतिशत खर्च भएको जानकारी दिए।
चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बराबरको बजेट विनियोजन गरेको थियो।
चालुतर्फ नौ अर्ब २० लाख २४ हजार (२६ दशमलव ९७ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार (५८ दशमलव ६५ प्रतिशत) बजेट विनियोजन गरिएको थियो।
त्यस्तै, चालु आवको जेठ मसान्तसम्म ६१ करोड ९७ लाख अर्थात् लक्ष्यको तुलनामा ७४ दशमलव १० प्रतिशत आन्तरिक राजस्व स¬ङ्कलन भएको बजेटमा उल्लेख छ।
प्रदेश स्थापनादेखि आव २०७९/८० सम्मको आन्तरिक राजस्व रु दुई अर्ब २४ करोड १३ लाख ६३ हजार छ जुन कुल राजस्व लक्ष्यको ९४ दशमलव आठ प्रतिशत हो ।
विनियोजित बजेटमा चालुतर्फ ६२.७१ र पुँजीगततर्फ ५५.०१ प्रतिशत गरी समग्रमा ५७.९० प्रतिशत बजेट खर्च भएको छ।
‘यसरी बजेट कम खर्च हुनुमा कर्णालीको भूगोल, जनशक्ति अभाव त छँदैछ । पछिल्लो समयमा ठूला परियोजना विकास गर्ने तर ढाँचा र आवश्यक तयारी नगर्नुले पनि बजेट कम खर्च हुने गरेको छ,’ उनले भने।
संघीय सरकारबाट आर्थिक २०७५/७६ देखि २०७९/८० सम्म सुरु बजेटमा सशर्त, समपूरक र विशेष अनुदानमा कुल २७ अर्ब ५२ करोड प्राप्त भएकामा सम्बन्धित आर्थिक वर्षभित्र खर्च हुन नसकी जम्मा ७ अर्ब ७८ करोड (२७.३२ प्रतिशत) संघीय सरकारकै कोषमा फिर्ता भएको थियो।
