चैत २६, काठमाडौं । उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गर्दैछ ।
निर्वाचन कार्यतालिकाअनुसार शनिबार दर्ता भएका उम्मेदवारीमा दाबी विरोधको उजुरीका लागि आइतबार समय तोकिएको थियो । त्यस अवधिमा परेका उजुरीको जाँचबुझ गरी आज बेलुका ५ देखि ६ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।
उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी फिर्ता लिन भोलि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको छ । त्यसपछि आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी भोलि नै चुनाव चिह्न प्रदान गर्नेछ । वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ । इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा उपनिर्वाचन हुँदैछ ।
उपनिर्वाचनका लागि नेकपा (एमाले)ले इलाममा सुहाङ नेम्बाङ र बझाङमा दमनबहादुर भण्डारीले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसबाट इलाममा डम्बरबहादुर खड्का र बझाङमा अभिषेक उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाममा मिलन लिम्बूलाई उम्मेदवार छन् । नेकपा माओवादी केन्द्रले दुवै ठाउँमा उम्मेदवारी दिएको छैन । विभिन्न दल र स्वतन्त्र गरी इलाममा १२ र बझाङमा २० जनाको उम्मेदवारी परेको छ ।
