चैत २, काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका-१ दुम्जामा कुकर बम विस्फोट भएको छ । आज बिहान ३ बजे दुम्जा डाँडास्थित विपी पार्कमा रहेको नेपाल टेलिकमको टावरको कम्पाउन्ड भित्र कुकर बम विस्फोट भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी डिएसपी चिरञ्जिवी दाहालका अनुसार विस्फोटको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । टावरको कम्पाउन्डभित्र रहेको पक्की घरको झ्यालमा अपरिचित समूहले कुकर बम पड्काएको भेटिएको उनले बताए । प्रहरीले कुकरको बिर्को झ्यालमा अड्किएको र कुकरको भाग भुइँमा रहेको अवस्थामा फेला पारेको छ। त्यस्तै पेट्रोलको गन्ध आउने बोतल र जन मुक्ति सेना लेखिएको पर्चा पनि बरामद भएको डिएसपी दाहालले जानकारी दिए ।
विस्फोटबाट टावरमा क्षति नभएको तर भवनको झ्यालमा सामान्य क्षति भएको उनले बताए । विस्फोटमा संलग्नहरूको खोजीकार्य तीव्र पारिएको डिएसपी दाहालले जानकारी दिए ।
