फागुन २०, काठमाडौं । अन्ततः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन परिवर्तन गरेका छन् ।
पोहोर फागुनमा एमाले लगायतका दलहरूसँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएका प्रचण्डले ठ्याक्कै वर्ष दिनमा कोल्टो फेरेका हुन् । यही सहमति कायम रहे अबको दुई वर्षमा एमाले र रास्वपालगायत दलहरू प्रधानमन्त्री प्रचण्डको सारथी दलका रूपमा रहनेछन् । सोमबार नेकपा एमालेका प्रमुख सचेत पदम गिरी, माओवादी केन्द्रका हितबहादुर तामाङ र रास्वपाका डोलप्रसाद अर्याल (डिपी) ले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष शपथ लिएसँगै नयाँ गठबन्धनले औपचारिक रूपमा गति लिएको हो ।
गठबन्धनमा जसपा, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायत सहभागी हुने भनिए पनि सोमबार पुनर्गठन भएको मन्त्रिपरिषदमा ती पार्टीका तर्फबाट कोही पनि सहभागी भएनन् । यद्यपि गठबन्धनको आधारपत्र तयार पार्न बसेको बैठकमा अरू तीन दलसहित जसपाका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी थिए । दलहरूले कार्यदल नै बनाएर अबको मन्त्रिमण्डल भागबण्डा, मन्त्रीहरूको वरीयता, प्रदेश सरकारहरू पुनर्गठनलगायत विषयमा प्याकेजमै सहमति खोज्ने भनेका छन् । गृह मन्त्रालयमा नेकपा एमाले र रास्वपाको तथा अर्थ मन्त्रालयमा माओवादी तथा एमालेको दाबी रहेको र कसले कुन मन्त्रालय पाउने भनेर टुंगिनसकेको बालुवाटार स्रोतको भनाइ छ ।
यद्यपि यसअघि कांग्रेसले लिएका मन्त्रालय एमालेले लिने मोटामोटी सहमति भएको नेताहरू बताउँछन् । मन्त्रालयकै भागबण्डा नमिल्दा सोमबार नै शपथ लिने भनिएका शीर्ष नेताहरूले शपथ लिएनन् । मन्त्रालयको टुंगो लागेपछिमात्रै आफूहरूले शपथ लिने नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।
स्रोतका अनुसार एमालेका उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका पुन, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने लगभग टुंगो भइसकेको छ ।
