माघ २४, काठमाडौं । मिलेमतोमा भिजिट भिसामार्फत वैदेशिक रोजगारीमा पठाउने प्रकरणमा अदालतले चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । यस्तै ६ जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
यस प्रकरणमा प्रहरीले दस जनालाई पक्राउ गरी अदालतमा मुद्दा पेस गरेको थियो । अध्यागमन अधिकृत नरवीर खड्का, मनोज तामाङ, सरोजकुमार यादव र अरूण दाहाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । त्यस्तै प्रतिवादी दिनेश ज्ञवालीसँग ७ लाख, रवीन अर्यालसँग १ लाख, पदम लामासँग १ लाख, विनोद कार्कीसँग २ लाख, रामप्रसाद भण्डारीसँग ७ लाख र गीता शाहसँग ५ लाख रूपैयाँ धरौटी माग भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गीताबाहेक अन्यले धरौटी बुझाएर छुटिसकेका छन् । धरौटी नतिरेपछि उनी पनि पुर्पक्षका लागि कारागार चलान भएका छिन् ।
परिसरले यस प्रकरणमा २२ जनालाई प्रतिवादी बनाएर माघ १४ गते सरकारी वकिल कार्यालय काठमाडौंमा मुद्दा बुझाएको थियो । सरकारी वकिल कार्यालयले माघ १८ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । २२ जना प्रतिवादी रहे पनि १० जना मात्रै पक्राउ परेका थिए । अन्य फरार रहेकामध्ये आठ जना अध्यागमन अधिकृतहरू छन् ।
अधिकृतहरू ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागोविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । त्यसबाहेक आशिष भन्ने केदारबहादुर खड्का, कौशिला मगर, लक्ष्मी राई र रिता दमाइ फरार छन् । कुँवर अध्यागमनबाट गृह सरूवा भइसकेका अधिकृत हुन् । उनको ठाउँमा नरवीर खड्का गएपछि ‘सेटिङ’ उनैको नेतृत्वमा हुँदै आएको अनुसन्धान अधिकृतहरूले बताउँदै आएका छन् ।
प्रहरीका अनुसार यस प्रकरणमा ट्राभल एजेन्सी, अध्यागमन अधिकृत लगायतको मिलेमतोमा भिजिट भिसामा वैदेशिक रोजगारीका लागि पठाउने गरिएको खुलेको हो । प्रहरीले अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरेपछि यसमा अन्य अधिकृतहरूको पनि संलग्नता खुलेको थियो ।
गत असोजमा विदेश जान खोजेका धेरै जनाका कागजातहरू नक्कली रहेको खुलेको थियो । नक्कली कागजातहरू बरामद गरी अनुसन्धानका लागि विमानस्थल प्रहरीमार्फत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार भएको थियो । सुरूमा असोज १७ गते १५१३ वटा कागजातहरू बरामद भई कार्यालयमा पठाएको थियो । त्यसपछि पनि पटकपटक नक्कली कागजातहरू बरामद हुन थालेपछि अनुसन्धान अघि बढाइएको थियो ।
