सरकारले जनताको अपेक्षाबमोजिम काम गर्छ: प्रकाशशरण महत

Byपहिलो सुचना

२०७८ भाद्र ६, आईतवार ११:१९ २०७८ भाद्र ६, आईतवार ११:१९ २०७८ भाद्र ६, आईतवार ११:१९

भाद्र ६, काठमाडौँ। नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसको नेतृत्वको वर्तमान सरकारले जनताको अपेक्षाबमोजिम काम गर्ने बताएका छन्।

ज्येष्ठ कांग्रेस सङ्घ बूढानिलकण्ठ वडा नम्बर ६ ले शनिबार गरेको कार्यक्रममा बोल्दै महतले भने, ‘यो अरु कसैले भन्ने गरेजस्तो परमादेशबाट नभएर जनमतबाट निर्मित सरकार हो, जनताले चाहेको सरकार भएकाले जनअपेक्षाबमोजिम नै काम गर्नेछ।’

सहमहामन्त्री डा महतले कम्युनिष्ट सरकारले बाटो नबिराएरको भए र चुनावका बेलामा जनतासँग गरेका वाचाअनुसार काम गरेको भए तथा देशमा सुशासन र कानुनीराजको सुनिश्चितता गरेको भए अहिले नै कांग्रेस सत्तामा नआउने बताए।

देशमा भ्रष्टाचार र अनियमितता बढेको तथा नागरिक महामारीको मारमा परेका बेला पनि सत्ताका लागि कम्युनिष्ट पार्टीहरुबीच भएका लुछाचुँडीले जनतामा निराशा छाएर यो सरकारलाई विकल्पका रूपमा रोजेका उनको तर्क थियो।

त्यसैले पनि यो सरकारले जनताको चाहनाबमोजिम काम गर्नुपर्ने भन्दै सीमित साधन र स्रोतका बाबजुद पनि यो सरकारले आगामी दिनका चुनौतीहरुलाई सामना गर्दै अघि बढ्ने र जनताका पक्षमा काम गर्ने बताए।

कुनै पनि राजनीतिक दलले आफू सत्तामा पुगेपछि अब कहिल्यै तल ओर्लिन पर्दैन भन्नेजस्ता अहंकार पाल्ने गरेकाले समय समयमा नेपालको राजनीतिमा दुर्घटना हुने गरेका दृष्टान्त पेश गर्दै यसअघिको सरकारमा पनि त्यस्तै अहंकार देखिएको र जसका कारण नेपाली नागरिकले कम्युनिष्ट सरकारलाई पाँच वर्षका लागि दिएको जनादेश तीन वर्षमै दुर्घटनामा परेको उनले बताए।

उनले ज्येष्ठ नागरिक देशका अनुभव र प्रेरणाका खानी भएकाले उनीहरुको सुझाव र दिशानिर्देशानुसार काम गर्दा देशको विकास हुने र समाज पनि समृद्ध बन्ने बताए।

ज्येष्ठ नागरिकको सम्मान गर्ने र उनीहरुले देखाएको सही बाटोको अनुशरण गर्ने समाज नै समृद्ध बन्ने उनले बताए। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook