पुस २५, काठमाडौं । विशेष अदालतले नेपाल प्रहरीका पूर्वडिआइजी महेशविक्रम शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा ३ वर्ष कैद सजाय निर्धारण गरेको छ । बुधबार अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले पूर्वडिआइजी शाह र पूर्वसई दिपेन्द्रप्रसाद पनेरूलाई जनही ३ वर्ष कैद सजाय सुनाएको हो ।
उनीहरू दुबै जनालाई पुस ११ गते विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको थियो । यस्तै उनीहरूलाई बिगो रकम १६ लाख ६९ हजार ०४२ रुपैयाँ जरिवाना र बिगो असुल समेत गर्न अदालतले आदेश दिएको छ । २०७२ सालमा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले नामै नभएका कर्मचारीको तलब, रासन बुझी राज्यकोषबाट लाखौं ठगी गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूमाथि अनुसन्धान गरेको थियो । अनुसन्धानपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चार जनाको संलग्नता देखिएको भन्दै मुद्दा दायर गरेको थियो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ फागुन २० गते पूर्वडिआइजी शाह, पूर्वसई पनेरू, प्रहरी हवल्दार केशवसिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेविरूद्ध मुद्दा दायर गरेको थियो । ऐरी र विशुंखेले सफाइ पाएका छन् ।
