कोरियाली भाषा परीक्षाः ललितपुर तनावग्रस्त, दुई प्रदर्शनकारीको मृत्यु

Byपहिलो सुचना

२०८० पुष १३, शुक्रबार १५:४२ २०८० पुष १३, शुक्रबार १५:४२ २०८० पुष १३, शुक्रबार १५:४२

पुष १३, काठमाडौं । दक्षिण कोरियामा रोजगारीको अवसर उपलब्ध गराउने ईपीएस कोटाअन्तर्गत नेपालमा लिइने भाषा परीक्षामा आफूहरूलाई पनि सहभागी गराउनुपर्ने मागसहित प्रदर्शन गरिरहेका युवाहरू र प्रहरीबीच शुक्रवार झडप हुँदा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। 

नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतका अनुसार डोटी घर भएका २२ वर्षीय एक युवकको पाटन अस्पतालमा मृत्यु भएपछि मृतकको सङ्ख्या दुई पुगेको हो। 

यसअघि जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज कार्कीले दैलेख घर भएका २३ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएका थिए।

प्रहरीले बल प्रयोग गर्नुअघि आक्रोशित प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाइदिएका थिए।

प्रहरीले बल प्रयोग गरेर भिडलाई तितरबितर बनाएको र २३ जनालाई पक्राउ गरिएको जनाएको छ।

केही सञ्चारमाध्यममा प्रकाशित विवरणका अनुसार प्रदर्शन चर्किएपछि प्रहरीले गोली चलाएको थियो। तर त्यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

प्रहरी के भन्छ?

तर ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले गोली नचलेको र अश्रुग्यास मात्रै प्रहार गरिएको बताए।

“अहिलेसम्म एक जनाको मृत्यु भएको र २ जना घाइते भएको कुरा छ। हामीले भर्खरै भिडलाई तितरबितर बनाएका छौँ,” उनले भने।

उनले प्रहरीले डुङ्गामुढा गर्ने व्यक्तिहरूविरुद्ध अश्रुग्यास प्रहार गरिएको बताए। 

आफू अझै पनि फील्डमै तैनाथ रहेको भन्दै उनले गोली चले नचलेकोबारे थप सूचना लिनुपर्ने बताए। 

यसअघि मन्त्री ज्वालाको गाडी आगजनीका कारण पूर्ण रूपमा क्षति भएको बताइएको थियो।

कसरी भयो हिंसा 

केही समयअघि दक्षिण कोरियामा ‘शीप बिल्डिङ’ अर्थात् पानीजहाज बनाउने कामको अवसरका लागि भाषा परीक्षा लिइएको थियो। 

उक्त परीक्षाको निर्णय आएपछि अनुत्तीर्ण आवेदकहरू श्रम तथा रोजगार विभागको ईपीएस शाखाले गरेको निर्णयसँग असन्तुष्ट देखिएका थियो। ईपीएस शाखाले अनुत्तीर्ण आवेदकहरू दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रमा काम गर्न जानका लागि लिइने अर्को भाषा परीक्षामा सहभागी हुन नपाउने निर्णय गरेको थियो। 

तीमध्ये १८ जनाले उक्त निर्णयलाई अदालतमा चुनौती दिएका थिए। पाटन उच्च अदालतको आदेशपछि ईपीएस शाखाले अदालतमा मुद्दा दायर गर्ने आवेदकलाई मात्र परीक्षामा सहभागी गराउने निर्णय गरेको थियो। 

सबैले भाषा परीक्षामा सहभागी हुनु पाउनुपर्ने मागसहित शुक्रवार केही युवाहरूले प्रदर्शन गरेका थिए। त्यस क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको बताइएको छ।

ललितपुरमा दक्षिण कोरिया जाने आकाङ्क्षीहरूलाई भाषा परीक्षा सञ्चालन गर्ने ईपीएसको कार्यालय छ। 

प्रदर्शनका कारण दिनभरि ललितपुरको ग्वार्को, बालकुमारी र आसपासको क्षेत्र तनावग्रस्त रहे।  

त्यस क्रममा उनीहरूले मन्त्री ज्वालाको सवारीसाधनमाथि आगो लगाएर हुलदङ्गा सुरु गरेपछि बल प्रयोग गरेको प्रहरी प्रवक्ता कार्कीले बताए। 

अस्पताल के भन्छ

दैलेख घर भएका घाइते प्रदर्शनकारीलाई नजिकैको किस्ट अस्पताल लगिएको थियो। 

“हामीकहाँ उहाँलाई ल्याइपुर्‍याउँदा नै अचेत अवस्थामा ल्याइएको थियो। उहाँको छातीमा नीलो डाम थियो। ल्याउँदा नै लगभग मृत अवस्थामा यहाँ ल्याइएको थियो,” उक्त अस्पतालका चीफ अपरेटिङ अफिसर अमिश पाठकले भने ।  

उनले चिकित्सकहरूले करिब ४५ मिनेट सीपीआर दिएको भए पनि उनलाई बिउँताउन नसकिएको बताए। अपराह्ण १:१७ बजे उनलाई मृत घोषणा गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook