बारामा शिक्षक हत्यामा संलग्नको आशंकामा एक जना पक्राउ

Byपहिलो सुचना

२०८० कार्तिक १४, मंगलवार ००:०८ २०८० कार्तिक १४, मंगलवार ००:०८ २०८० कार्तिक १४, मंगलवार ००:०८
Gun shot

कात्तिक १३ , काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–६ मा सोमबार मध्याह्न भएको शिक्षक रुपेश स्वर्णकार (गुड्डु) को हत्यामा संलग्नको आशंकामा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बाराले कलैयाबाट एक जनालाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

‘अहिले बताउन सक्ने विषय भनेको शंकास्पद एक जना नियन्त्रणमा छन्, अरु विषयमा अनुसन्धान भइरहेको छ’, सापकोटाले भने, ‘थप खुलेपछि प्रहरीले यस विषयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछ ।’

सोमबार दिउँसो पाने १ बजे मोटरसाइकलमा घरतिर गइरहेका बेला बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक स्वर्णकारलाई अज्ञात समूहले गोली हानेको थियो । कलैया उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष रामविश्वास ठाकुर लोहारका अनुसार, स्कुल नजिक पुग्ने बेला उनलाई दुई वटा मोटरसाइकलमा भएका अज्ञात व्यक्तिले घेरेका थिए ।

‘मोटरसाइकल कुदिरहेको थियो, उहाँको अगाडि एउटा र पछाडि अर्को मोटरसाइकलले उनलाई पछ्याएछ’, लोहारले प्रत्यक्षदर्शीहरुलाई उधृत गर्दै भने, ‘उहाँले भाग्ने प्रयास गर्दै स्पीड बढाउनुभयो, तर अगाडि पट्टीे मोटरसाइकलमा सवार दुईजना मध्ये पछाडि बस्नेले गोली चलाएछ ।’

 लोहारका अनुसार, दुई वटा मोटरसाइकलमा चार जना थिए । पक्राउ पर्ने व्यक्ति तिनै चार जनामध्येका हुन् वा होइनन् भन्ने खुलेको छैन । प्रहरीले समेत पक्राउ परेका व्यक्तिबारे जानकारी दिएको छैन ।

स्रोतका अनुसार, घटनापछि मृतक स्वर्णकारको मोबाइल समेत हराएको थियो । गोली हान्ने व्यक्तिहरुले नै स्वर्णकारको मोबाइल लिएर गएको प्रत्यक्षदर्शीहरुले दाबी गरेका थिए ।

गोली लागेलगत्तै उपचारका लागि उनलाई कलैया अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि फेरि वयोधा अस्पताल पु¥याइएको थियो । त्यहाँबाट पनि काठमाडौं रेफर गर्ने तयारी हुँदाहुँदै चिकित्सकहरुले मृत घोषित गरेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले अनलाइनखबरलाई बताए ।

घटनामा पेशेवर सुटरहरुको प्रयोग गरिएको हुनसक्ने आशंका गरिएको छ । घटनालगत्तै उनीहरु सीमा क्षेत्रतिर भागेका थिए । स्वर्णकारलाई गोली हान्नुको कारण खुलेको छैन ।

कलैया उपमहानगरका मेयर विनोदप्रसाद शाहका अनुसार, मृतक स्वर्णकारको बजारमा दुई वटा सुन पसल पनि थियो । पसल उनका दाजुले चलाउँदै आएका थिए । प्रहरीले घटनामा थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook