कोशीमा माओवादी बाहिरियो, कांग्रेस भित्रिँदै

Byपहिलो सुचना

२०८१ श्रावण १३, आईतवार १०:५५ २०८१ श्रावण १३, आईतवार १०:५५ २०८१ श्रावण १३, आईतवार १०:५५

साउन १३, काठमाडौं । कोशी प्रदेशमा माओवादी बाहिरिएलगत्तै कांग्रेस–एमाले सरकार बन्ने भएको छ । माओवादीका चार मन्त्रीले शुक्रबार पदबाट राजीनामा दिएपछि एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।

शुक्रबार माओवादीका मन्त्रीहरू गणेश उप्रेती, नारायण बुर्जामगर, राजेन्द्र कार्की र बन्दना झाँगडले मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाएका थिए । माओवादीले समर्थन गरेपछि कार्की गत २७ वैशाखमा मुख्यमन्त्री बनेका थिए । केन्द्रमा १७ असारमै कांग्रेस–एमालेको गठबन्धन बने पनि मुख्यमन्त्री कार्कीको आग्रहकै कारण माओवादीले सरकार छाडेको थिएन । कांग्रेसमा मन्त्री बन्न नेताहरूले लबिइङ थालेका छन् ।

संस्थापन शेरबहादुर देउवा, शेखर कोइराला र कृष्णप्रसाद सिटौला पक्षका सांसदहरूले लबिइङ थालेका हुन् । कांग्रेसमा संसदीय दलका उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सांसदहरू भूपेन्द्र राई, भीम पराजुली, अमृत अर्याल, सुनिता गुरुङलगायत एक दर्जन बढी मन्त्रीका आकांक्षी छन् ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकारमा सहभागी हुनेबारे दलमा छलफल सुरु भएको र चाँडै मन्त्रीहरूको नामा टुंगो लाग्ने बताए । एमाले र कांग्रेसबीच सरकारको  नेतृत्व आलोपालो गर्ने आन्तरिक सहमति भएको छ । नौ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित एमालेले चार र कांग्रेसले चार मन्त्रालय लिने भएका छन् ।

डेढ वर्षमा ५३ जना मन्त्री 
कोशीमा दोस्रो कार्यकालको १८ महिनामा ६ पटक सरकार परिवर्तन भइसकेको छ । यो अवधिमा १३ पटक मन्त्रिपरिषद् विस्तार भएको छ । २४ पुस ०७९ मा माओवादीको समर्थनमा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । तर, नामाकरण विवादले माओवादी सरकारबाट बाहिरिएपछि विश्वासको मत पाउन नसक्दा उनी १४ असार ०८० मा पदमुक्त भए ।

त्यसपछि २२ असार ०८० मा कांग्रेसका उद्धव थापा माओवादीको सहयोगमा मुख्यमन्त्री बने । तर, उनलाई सर्वोच्च अदालतले बर्खास्त गरिदियो । १७ साउन ०८० मा पुनः कांग्रेसकै थापा मुख्यमन्त्री बने । तर, अदालतले पुनः उनको नियुक्तिलाई बदर गरेपछि २२ भदौ ०८० मा एमालेका कार्की नै पुनः मुख्यमन्त्रीमा बहाल भए ।

तर, फेरि विश्वासको मत पाउन नसकेपछि उनी पदमुक्त भए । त्यसपछि संविधानको धारा १६८ को ५ अनुसार एमालेको समर्थनमा आठजना बागी सांसद लिएर विद्रोह गरेका कांग्रेसका सांसद केदार कार्की पाँचौँ मुख्यमन्त्री बने ।

तर, केही समयपछि कार्कीलाई समर्थन गरेको एमाले असन्तुष्ट भएपछि सरकारबाट बाहिरियो । र, एमालेका हिक्मत कार्की गत २७ वैशाखमा मुख्यमन्त्री नियुक्त भए । १६८ को ५ अनुसार मुख्यमन्त्री भएकाले हटाउन नमिल्ने भन्दै कांग्रेसका कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook